चैत्र २४, २०८१ सोमबार
कोहलपुर, बाँके — नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आइतबार कोहलपुरस्थित मालपोत कार्यालय र नापी कार्यालयको अनुगमन गर्नुभएको छ। सेवाग्राहीको भीड, फाइलको ढिलासुस्ती र कार्यालयको कार्यशैलीप्रति चासो व्यक्त गर्दै मन्त्री अधिकारीले जनताको काम छिटो छरितो रूपमा गर्न निर्देशन दिनुभयो।
अनुगमनका क्रममा मन्त्री अधिकारीले मालपोत तथा नापी कार्यालयमा सेवा लिन आएका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रवाहमा भइरहेको कठिनाइबारे बुझ्नुभयो। कार्यालय प्रमुखहरूसँग कार्यप्रणालीबारे जानकारी लिँदै उहाँले सेवा प्रभावकारी र पारदर्शी बनाउन विशेष जोड दिनुभयो।
“सार्वजनिक सेवा जनताको अधिकार हो, यसमा ढिलासुस्ती सह्य हुँदैन,” मन्त्री अधिकारीले भन्नुभयो, “जनताको काम छिटो, छरितो र इमान्दारिताका साथ हुनुपर्छ।”
उहाँको अनुगमनपछि कर्मचारीहरूमा चनाखोपन देखिएको थियो भने सेवा लिन आएका केही नागरिकले मन्त्री आफैं आएर समस्या सुन्नु सकारात्मक संकेत भएको प्रतिक्रिया दिएका छन्।
साथै, मन्त्री अधिकारीले प्रविधिमैत्री र जनमैत्री प्रशासन निर्माण गर्न मालपोत तथा नापी कार्यालयहरूलाई थप सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको पनि बताउनुभयो।
Leave A Comment