Latest
img

सिद्धार्थ माविमा गणित शिक्षकको अभाव, दुई सातादेखि पढाइ ठप्प

कोहलपुर, बाँके | कोहलपुर नगरपालिका–५ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गणित विषयका शिक्षक नहुँदा कक्षा ९ र १० का विद्यार्थीहरू दुई सातादेखि गणित पढ्नबाट वञ्चित भएका छन्।

विद्यालयमा गणित विषय पढाउँदै आएकी शिक्षिका सन्ध्या शर्माले शिक्षक सेवा आयोगको परीक्षाबाट नाम निकालेर विद्यालय छाडेपछि गणित विषय खाली भएको हो। त्यसयता सो विषयको पठनपाठन रोकिएको छ।

शिक्षक अभावका कारण कोहलपुर नगरपालिका शिक्षा शाखाले २०८१ साल चैत २६ गते जनता माध्यमिक विद्यालय, मैटहवामा कार्यरत विज्ञान विषयका निम्न माध्यमिक तहका शिक्षक बद्री ढकाललाई अस्थायी रूपमा सिद्धार्थ माविमा गणित पढाउन पत्र काटी पठाएको थियो। तर विद्यालयले ढकाललाई न त विषयगत, न त तहगत योग्यता मिल्ने शिक्षक भएको भन्दै हाजिरी गराएको छैन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने, “विद्यालयमा विज्ञान विषयका शिक्षक लछिराम थारु पहिलेबाटै कार्यरत छन्। नगरपालिकाले पठाउनु भएका शिक्षक न त गणित विषयका हुन्, न त माध्यमिक तहका। त्यसैले हामीले हाजिरी स्वीकृत गर्न सकेनौं।”

गणित शिक्षकको अभावले विद्यार्थीहरूको पढाइ प्रभावित भएको भन्दै अभिभावकहरू चिन्तित छन्। स्थानीयले नगरपालिकालाई योग्य र स्थायी गणित शिक्षकको तत्काल व्यवस्था गर्न आग्रह गरेका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment