माघ ४, २०८१ शुक्रबार
कोहलपुर, बाँके – सस्थागत विद्यालय सङ्गठन (क्रिसा), बाँकेको आयोजनामा १५ औं क्रिसा रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुक्रबारदेखि भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा कोहोलपुर बैजनाथ र राप्तिसोनारि गरि २६ वटा विद्यालय सहभागी छन्।
शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनको अभियान
“निजी तथा संस्थागत विद्यालयको एकता, विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवं अनुशासित जीवन यापन” भन्ने मूल नाराका साथ सुरु भएको यो प्रतियोगिता माध्यमिक र आधारभूत तहमा गराइँदैछ। प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, ए फाइभ फुटबल लगायतका २० वटा खेल समावेश गरिएको छ।
झाँकी र प्रभातफेरीसहित उद्घाटन कार्यक्रम
खेलकुदको उद्घाटन सत्र विशेष रूपमा आकर्षक बनाइएको थियो। कोहलपुरको पिपलचौताराबाट झाँकी, पञ्चेबाजा र प्रभातफेरीसहित शिक्षक, विद्यार्थी र अभिभावकको टोलीले नगर परिक्रमा गरेको थियो। कोहलपुर नगरपालिका कार्यबाहक नगरप्रमुख बिरेन्द्र शाह प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि रहनु भएको थियो भने कार्यक्रमको सभापति क्रीसा बाँके अध्यक्ष बेगम चन्द रहनु भएको थियो । प्रभातफेरीले कोहलपुरका विभिन्न स्थान परिक्रमा गर्दै कार्यक्रम स्थल तेर्ह बिगाहमा पुगेर औपचारिक उद्घाटन गरियो।
प्रतियोगिताबाट अपेक्षाहरू
कार्यक्रमको उद्देश्य शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्दै विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, र स्वस्थ प्रतिस्पर्धा विकास गर्नु हो। खेलकुदका माध्यमबाट निजी र संस्थागत विद्यालयबीच सहकार्य र एकता सुदृढ बनाउने लक्ष्य समेत राखिएको छ।
प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, टीमवर्कको महत्व बुझाउन र समाजमा अनुशासन र मर्यादित जीवनयापनको सन्देश प्रवाह गर्न सहयोग पुर्याउने आयोजकको विश्वास छ।
खेलप्रेमीहरूको उत्साह
उद्घाटन समारोहमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रमको व्यवस्थापन र सहभागिताले प्रतियोगिताको सफलताको संकेत दिएको छ।
Leave A Comment