Latest
img

इनारमाथि प्रकाश सपुत नाचेको विवादित भिडि‌ओबारे निर्माता कम्पनीले माग्यो माफी

कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले ‘सुटिङ’ गरेको विवादित भिडिओ क्लिपलाई लिएर निर्माता कम्पनीले माफी मागेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै ‘कमाउने नि हो रमाउने नि हो’ बोलको गीतको म्युजिक भिडिओको विषयमा शुभारम्भ डिजिटल म्युजिक प्राइभेट लिमिटेडले माफी मागेको हो।

‘गीतको म्युजिक भिडियोको विषयमा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता साथै मिडियामा समेत आइरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गीतको सुटिङ हुँदाका दृष्यहरू दर्शकहरूले खिचि सामाजिक सञ्जालमा राख्नु भएकोमा सोही विषयलाई लिएर विभिन्न सरोकारवाला र सामाजिक अभियन्ताहरूले चासो व्यक्त गर्नुभएको छ।’

निर्माता कम्पनीले गीतका नायक प्रकाश सपुतलाई लक्षित गरी गाली गलौज तथा लाञ्छना नलगाउन विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ।

सामाजिक सञ्जालमा देखाइएको जस्तो दृष्यहरू सार्वजनिक भएको म्युजिक भिडिओमा प्रयोग नभएको कुरा निर्माता कम्पनीले प्रष्ट्याएको छ।

‘हाम्रो उदेश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमा प्रार्थी छौं।’

कलाकार प्रकाश सपुत र जुना विश्वकर्माले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेर ‘सुटिङ’ गरेको भिडिओ क्लिप विवादित बनेको थियो।

जीवित देवी कुमारीले प्रयोग गर्ने इनारमा कलाकारहरूले नाचेपछि सामाजिक सञ्जालमा उनीहरूको आलोचना भएको थियो।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको थियो।

यो भिडिओ क्लिप हालसालै खिचिएको भने थिएन। यो करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ गरेको भिडिओ क्लिप हो। यो गीतको पूरा भिडिओ छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो।

भिडिओ क्लिपको आलोचना भएपछि हामीले उक्त इनारको महत्व र इतिहासबारे कुमारी घरका चिताइदार (संरक्षक) गौतम शाक्यसँग बुझेका थियौं।

उनले कुमारीको निजी इनारमाथि कलाकारहरूले अभिनय गरेको भिडिओमा देखिने बताएका थिए।

‘त्यो कुमारीको निजी इनार हो। त्यहाँको पानी कुमारीले प्रयोग गर्दै आइरहनुभएको छ,’ उनले भनेका थिए, ‘मल्लकालीन समयमा कुमारीलाई पानी लिन टाढा जान पर्ने हुँदा त्यहाँ कुमारीकै लागि भनेर इनार खनिएको थियो। हिउँदमा प्राय: कुमारीले त्यही इनारको पानी प्रयोग गर्नुहुन्छ। इनारमा कुमारी घरबाटै ताल्चा पनि लगाइएको छ।’

उक्त इनारको छुट्टै गुठी छ। कुमारीले प्रयोग गर्ने इनार भएको हुँदा वर्षको दुई पटक खोलेर पूजा गर्ने गरिएको उनले बताएका थिए। तर अहिले इनारमाथि टेक्ने, चढेर अभिनय गर्नेजस्ता कार्य भएकोले आलोचना भएको उनले बताएका थिए।

‘हामीले पहिलेदेखि नै इनार संरक्षणका लागि काठमाडौं महानगरलाई भनेका थियौं। इनारमाथि बस्ने, चिया खाने, वरपर चिया बेच्नेजस्ता कार्य रोक्नुपर्छ भन्दा महानगरले वास्तै गरेन,’ उनले भनेका थिए।

कलाकार प्रकाश सपुतलाई यसबारे सोध्दा उनले भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र आफूले थाहा पाएको बताएका थिए।

‘भिडिओ क्लिप भाइरल भएपछि मात्रै मैले थाहा पाएँ। त्यो पुरातात्विक हिसाबले महत्व बोकेको इनार रहेछ,’ सपुतले भनेका थिए, ‘गीत सार्वजनिक भएको महिनौंपछि यो क्लिप कसरी निस्कियो थाहा छैन। तर हामीबाट गल्ती भएको छ, क्षमा चाहन्छौं।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment