Latest
img

राप्ती सोनारीको जंगलबाट अवैध ब्रोइलर कुखुरा बरामद

भारतबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेका ब्रोइलर कुखुरा बाँकेमा प्रहरीले बरामद गरेको छ । अवैधरूपमा ल्याइएका तीन सय किलोग्राम ब्रोइलर कुखुरा राप्तीसोनारी गाउँपालिका– ४ कुम्भरस्थित जंगल नजिकैबाट प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध ब्रोइलर कुखुरा बरामद गरेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । उनकाअनुसार कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

भारतबाट अवैधरूपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरू कुखुरा छाडेर भागेका थिए । बरामद गरिएका कुखुरा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार ल्याइएको थियो । तस्करले ल्याउँदै गरेका कुखुरा केहि मरेका फेला परेको प्रहरीले जनाएको छ ।

भारतीय कुखुरामा बर्डफ्लु देखिएपछि सरकारले विगत एक दशकदेखि भारतीय पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ । रोक लगाए पनि बाँकेका सीमा क्षेत्रबाट भारतीय कुखुरा अवैधरूपमा भित्रिदै आएका छन् ।

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरू र नेपाल प्रहरीले सक्रियता नदेखाउँदा भारतीय कुखुरा भित्रिने क्रम रोकिएको छैन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment