पुष १९, २०८१ शुक्रबार
कोहलपुर महोत्सवमा आज शुक्रबार लोकदोहोरी क्षेत्रकी चर्चित गायिका ज्योति मगरले आफ्नो प्रस्तुति मार्फत माहोल तताएकी छिन्। महोत्सवमा अन्य कलाकारले पनि गीत गाएका भएपनि दर्शकहरू निरन्तर “ज्योति मगर चाहियो” भन्दै उनको प्रतिक्षामा थिए।
नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वय समितिको आयोजनामा भइरहेको महोत्सवको ११औँ दिनमा ज्योति मगरको लोकप्रियता झल्कियो। मगर पहिरनमा स्टेजमा आएकी ज्योतिले दर्शकसँग रमाइलो गर्दै चर्चित लोकदोहोरी गीतहरू, जस्तै उहीँ मुलाको सिन्की र ढाडे बिरालो गाएर उपस्थितलाई मनोरञ्जन दिइन्।
रात झमक्क पर्दै जाँदा उनले आफ्नो प्रस्तुति थप आकर्षक बनाउँदै वातावरणलाई झन् गर्मायो। ज्योतिका कम्मर मर्काउने प्रस्तुति र खुलेर गरिएको कुराकानीले दर्शकलाई झन् रोमाञ्चित बनायो। भीडको उत्साहले गर्दा प्रहरीलाई दर्शक व्यवस्थापनमा हम्मेहम्मे परेको देखिन्थ्यो।
Leave A Comment