पुष २३, २०८१ मंगलबार
बाँके जिल्लाको कोहलपुर क्षेत्रमा शीतलहरले जनजीवन अत्यधिक प्रभावित बनाएको छ। अत्यधिक चिसोका कारण सर्वसाधारणले दैनिक कामकाजमा कठिनाइ भोगिरहेका छन्। अटोचालक, मोटरसाइकल सवार, र खुला ठाउँमा काम गर्ने मजदूरहरूले बढी कष्ट व्यहोर्नुपरेको छ।
कोहलपुरमा बढेको चिसोको प्रभावलाई ध्यानमा राख्दै सामाजिक अभियन्ता भूम भण्डारीले नगरपालिकालाई दाउरा र ज्याकेट वितरण गर्न माग गर्दै निवेदन दिनुभएको छ। सचेत युवा कोहलपुरका संयोजक शंकर न्यौपानेले पनि नगरपालिकाले चिसोबाट नागरिकलाई जोगाउन तत्काल दाउरा वितरण गर्नुपर्ने धारणा राख्नुभएको छ।
कोहलपुर नगरप्रहरी प्रमुख वीर बहादुर थापाका अनुसार, कोहलपुर नगरपालिकाले दुई दिनभित्र दाउरा वितरण गर्ने योजना बनाइसकेको छ। उनले सबैलाई धैर्य राख्न आग्रह गर्दै नागरिकको सुरक्षा र राहतका लागि आवश्यक कदम चालिने आश्वासन दिनुभएको छ।
शीतलहरको कारण स्वास्थ्य समस्या बढ्न सक्ने जोखिम रहेकोले सर्वसाधारणलाई सकेसम्म घरभित्रै बस्न र न्यानो कपडाको प्रयोग गर्न स्थानीय प्रशासनले सुझाव दिएको छ।
Leave A Comment