पुष २४, २०८१ बुधबार
कोहलपुर, बाँके – कोहलपुरको पुरानो बसपार्कमा यातायात कार्यलयको सेवा केन्द्र स्थापना हुने भएपछि स्थानीय व्यवसायीहरूमा नयाँ उत्साह देखिएको छ। यातायात सेवा केन्द्र स्थापनाको तयारी तीव्र रूपमा अघि बढिरहेको छ, जसअन्तर्गत पुरानो बसपार्कको भवनको रङ्गरोगन र मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ।
कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुरका अनुसार यातायात कार्यालयको लागि आवश्यक पूर्वाधार तयार पारिएको छ। सेवा केन्द्रको सुविधा अन्तर्गत शौचालय र खानेपानीको पनि व्यवस्था गरिँदैछ।
स्थानीय होटल व्यवसायीहरूले यो पहलले आफ्नो व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छन्। “पुरानो बसपार्क अर्को ठाउँ सर्दा व्यापारमा असर परेको थियो, तर अब यातायात कार्यलयले व्यापारलाई फेरि नयाँ गति दिनेछ,” एक स्थानीय होटल व्यवसायीले भनिन्।
सामाजिक अभियन्ता भुम भण्डारीले यातायात कार्यलयको कोहलपुर आगमनलाई कोहलपुरको आवश्यकता अनुसारको कदम भएको बताउँदै यसलाई सबैको सहकार्यको उपलब्धि भनेका छन्। “यातायात मैले ल्याएँ भनेर भन्नुको अर्थ छैन। यो कोहलपुरको सामूहिक प्रयास हो, जसले यहाँको विकासलाई नयाँ दिशा दिनेछ,” उनले थपे।
यातायात कार्यालय स्थापनाले कोहलपुरको आर्थिक गतिविधि बढाउने र सर्वसाधारणलाई सहज सेवा दिने अपेक्षा गरिएको छ। व्यवसायीहरूदेखि स्थानीय नागरिकसम्म सबै यस सकारात्मक परिवर्तनको प्रतिक्षामा छन्।
Leave A Comment