माघ ९, २०८१ बुधबार
कोहलपुर, बाँके – लुम्बिनी प्रदेश सरकारले कोहलपुरमा यातायात व्यवस्था शाखा कार्यालय स्थापना गरी माघ ५ गते भव्य उद्घाटन गरेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गर्नु भयो। उद्घाटनकै दिन मन्त्रीज्यूले कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रदान गरी कार्यको शुभारम्भ गर्नुभएको थियो।
उक्त शाखा कार्यालयले लाइसेन्स नवीकरण, सवारी दर्ता किताब नवीकरण, र पटके सेवा जस्ता महत्त्वपूर्ण सेवा उपलब्ध गराउनेछ। अबदेखि स्थानीय बासिन्दाहरूलाई यी सेवाहरूका लागि नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय बसन्ती अधिकारी, पूर्वमन्त्री दुर्गा प्रसाद चौधरी, माननीय सन्जु चौधरी, नेपालगन्ज यातायात कार्यालयका प्रमुख लोक बहादुर सुनार, कोहलपुर नगरप्रमुख पूर्ण प्रसाद आचार्यलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।
सेवाग्राहीहरूले कोहलपुरमै यी सेवा पाउन पाउँदा खुसी व्यक्त गरेका छन्। स्थानीयले यो शाखा कार्यालयले समय र खर्च दुवै बचत हुने भन्दै प्रशंसा गरेका छन्। शाखाले स्थानीय स्तरमा यातायात व्यवस्थापनलाई सहज बनाउँदै सेवाग्राहीहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ।
Leave A Comment