माघ १२, २०८१ शनिबार
कोहलपुर: यूरो स्कुल, कोहलपुरले २०८१ माघ १२ गते विद्यालय प्रांगणमा भव्य वार्षिक उत्सव सम्पन्न गरेको छ। शैक्षिक र सांस्कृतिक गतिविधिहरूलाई समेट्दै आयोजित यो कार्यक्रमले विद्यालयको प्रगतिलाई उजागर गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरप्रमुख पूर्ण प्रसाद आचार्यले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। विशिष्ट अतिथि सामाजिक विकास योजना संयोजक इश्वरी बिकले शिक्षा र समाजको सहकार्यमा यस्ता कार्यक्रमहरूको महत्त्वबारे चर्चा गर्नुभयो।
विद्यालयका संस्थापक अध्यक्ष कमल पर्साइले कार्यक्रममा बोल्दै, कोहलपुरमा स्मार्ट शिक्षण अवधारणाको विकास गर्ने लक्ष्यसहित विद्यालय स्थापना गरेको बताउनुभयो। उहाँले विद्यालयलाई मन्टेश्वरी विधि, प्रयोगात्मक शिक्षण, र आइसिटी बेस एजुकेसनलाई समेटेर नवीन शिक्षण पद्धति लागू गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा सञ्चालक समितिका सदस्य बामदेब न्यौपाने, श्याम बहादुर कुँवर, र शेरसिंह भण्डारीले पनि आफ्नो विचार राख्नुभयो। यूरो स्कुल कोहलपुरका सञ्चालक जेम्स मुर्मुले स्वागत मन्तव्य दिँदै विद्यालयको भावी योजनाबारे प्रकाश पार्नुभयो।
विद्यार्थीहरूले नृत्य, गायन, नाटक, र अन्य सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे। विशेषगरी, रचनात्मक प्रस्तुति र वार्षिक प्रगति प्रतिवेदनले सहभागीहरूको ध्यान तान्यो।
कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो। विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, र स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय पाठ्यक्रमसँग सम्बन्धित विषयहरूलाई विशेष महत्त्व दिइएको थियो। कोहलपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम अन्तर्गत थारु भेषभूषा, माछा मार्न प्रयोग गरिने परम्परागत औजारहरूको प्रदर्शनी गरिएको थियो। यो प्रदर्शनीले स्थानीय संस्कृति र परम्पराको महत्त्वलाई विद्यार्थी र अभिभावकहरू माझ उजागर गरेको छ।
Leave A Comment