फागुण २१, २०८१ बुधबार
कोहलपुर, बाँके – समाजसेवामा विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्यले ज्ञानकुञ्ज इङ्गलिस मिडियम स्कुल, कोहलपुर-१२, चप्परगौडी निबुवाका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूले निल सागर सेवाश्रममा एक दिने भोजन कार्यक्रमको आयोजना गरेका छन्।
विद्यार्थीहरूबाट संकलित अतिरिक्त शुल्कको सदुपयोग गर्दै आयोजित यस कार्यक्रममा सेवाश्रममा आश्रित बेसहारा व्यक्तिहरूलाई स्वादिष्ट भोजन प्रदान गरियो। विद्यालयका शिक्षक, विद्यार्थी तथा सेवाश्रमका गुरु अद्वैतज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रम अत्यन्तै प्रेरणादायी रह्यो।
गुरु अद्वैतज्यूले विद्यार्थीहरूलाई समाजसेवा र परोपकारको महत्वबारे मोटिभेसन क्लास प्रदान गर्दै जीवनमा सहानुभूति र सहयोगको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो। विद्यालय प्रशासनका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै उनीहरूमा सामाजिक उत्तरदायित्वबोध गराउने उद्देश्य राखेको थियो।
विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूको यस मानवीय कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता समाजसेवामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यार्थीहरूको यो सराहनीय कदमले ‘सेवा नै धर्म हो’ भन्ने सन्देश फैलाएको छ, जसले अन्य शैक्षिक संस्थाहरूलाई पनि यस्तै कार्यमा प्रेरित गर्ने विश्वास गरिएको छ।
Leave A Comment